तपाईंले घरमा कस्तो चामल खानुहुन्छ मोटो, मसिनो ? सहर–बजारमा बस्ने अधिकांशको जवाफ हुने रहेछ, मसिनो ।
हामीले आफ्नो देशलाई कृषिप्रधान देश भन्दै आइरहेका छौँ । तर, पछिल्लो समय हामीकहाँ वार्षिक करिब ३८ अर्ब रुपैयाँको धान–चामल आयात भइरहेको भन्सार विभागको तथ्यांक छ । यसो हुनुको कारण हो, देशमा उत्पादन घट्नु । उत्पादन कसरी बढाउने ? यसका लागि सबैभन्दा पहिले अनुसन्धान गरिनुपर्छ ।
कृषिसम्बन्धी अनुसन्धान गर्ने संयन्त्र हो, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) । यसले के गरिरहेको छ त ? ‘यतिखेर खाद्यान्नको आयात घटाउने नीति राज्यको छ । यसका लागि उत्पादन बढाउन नार्कले मूलभूत रूपमा बालीनाली र पशुपक्षीको जातीय विकासमा काम गर्दै आएको छ,’ नार्कका कार्यकारी निर्देशक दीपक भण्डारी भन्छन्, ‘कृषि र कृषकका समस्या के छन्, प्राविधिक समस्या के छन्, तिनलाई समाधान गर्ने विषयवस्तु छनोट गरी नार्कले अनुसन्धान गर्ने गर्छ ।’
अचेल अर्गानिक खेतीको बहस निकै सुनिन्छ । खाद्यान्नमा आत्मनिर्भर हुन हामीले हाइब्रिड (वर्णसङ्कर)जात ल्याउनैपर्ने कार्यकारी निर्देशक भण्डारी बताउँछन् । ‘तर, त्यसलाई कति क्षेत्रफलमा लगाउने भन्ने तोकिनुपर्छ । हामीले अहिले जति जातका धान लगाइरहेका छौँ, धानको आयात रोक्न त्यसमा करिब ३० प्रतिशत हाइब्रिड जात, ५०–६० प्रतिशत विकासे जात र १०–१५ प्रतिशत रैथाने जात लगाउनुपर्छ,’ उनी भन्छन्, ‘यसरी सन्तुलित तरिकाले अगाडि बढे मात्रै हामीले धानको आयात रोक्न सक्छौँ ।’
उनका अनुसार, अहिलेसम्म नार्कले विभिन्न बालीनालीका सात सयभन्दा बढी जातको विकास गरिसकेको छ । नार्कले अनुसन्धानबाट विकासको गरेको नयाँ जात राजपत्रमा प्रकाशित भएर प्रयोगमा आउँछ ।
إرسال تعليق